काठमाडौं । नेपाल र युएई बीचको पहिलो टी-२० आई क्रिकेट वर्षाका कारण अवरुद्ध भएको छ।
१८.५ ओभरसम्मको खेल सकिँदा नेपालले ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो। पानी परेसँगै मैदानको पीच कभरले ढाकिएको छ।
खेल रोकिनुअघि कप्तान कप्तान दीपेन्द्र सिंह ऐरी ३२ र सन्दीप लामिछानेले २ रनमा अविजित छन्।
नेपालका ओपनर कुशल भुर्तेल १६ रन बनाएर रनआउट भए भने अर्जुन साउद १३ रनमा बोल्ड आउट भए। त्यसैगरी सन्दीप जोरा ६ रनमा क्याच आउट हुँदा कुशल मल्ल १७ रनमा एलबीडब्लु धरापमा परे।
अन्य खेलाडीमध्ये बसिर अहमद १४ रनमा क्याच आउट भए भने गुल्सन झा १ रनमा एलबीडब्लु आउट भए। नन्दन यादव १३ रन बनाउँदा क्याच आउट भए भने शेर मल्ल खाता खोल्न नसकी पेभेलियन फर्किए।
वर्षा रोकिएपछि खेल पुनः सुरु हुने अपेक्षा गरिएको छ, तर मौसमको अवस्था अनुसार खेलको नतिजामा असर पर्न सक्ने सम्भावना रहेको छ।