कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवस मनाइँदै

एक महिना अगाडि
कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवस मनाइँदै

काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। देशभरका कम्युनिष्ट दलहरूले स्थापना दिवसको अवसरमा विचार गोष्ठी, सभासम्मेलन तथा स्मरण कार्यक्रम आयोजना गरेका छन्।

नेपालमा संगठित रूपमा कम्युनिष्ट आन्दोलनको सुरुआत भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ९ गते यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

वि.सं. २००६ साल वैशाख ९ गते राणा शासनको दमनकारी अवस्थामा पुष्पलाल श्रेष्ठ को नेतृत्वमा नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो। उक्त पार्टी स्थापनामा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशी लगायतका नेताहरूको महत्वपूर्ण भूमिका रहेको थियो।

स्थापनापछि पुष्पलाल श्रेष्ठ पहिलो महासचिव बनेका थिए र उनले कम्युनिष्ट विचारधारालाई देशव्यापी रूपमा फैलाउने काम गरेका थिए।

कम्युनिष्ट आन्दोलनले विशेषगरी २०४६ सालको जनआन्दोलनपछि थप गति लिएको मानिन्छ। त्यसपछि विभिन्न चरणमा कम्युनिष्ट दलहरूले सरकारको नेतृत्व समेत गरेका छन्।

यद्यपि, पछिल्ला वर्षहरूमा निरन्तरको विभाजन, गुटबन्दी र सत्ताकेन्द्रित राजनीतिका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको विश्लेषण हुँदै आएको छ।

हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका विभिन्न कम्युनिष्ट दलहरूले स्थापना दिवसका अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार विगतको योगदानको समीक्षा गर्दै आगामी दिशा तय गर्ने अवसरका रूपमा पनि यो दिवसलाई लिने गरिन्छ।