कांग्रेस संसदीय दलको नेता चयन आज, मैदानमा काे-काे ?

एक महिना अगाडि
कांग्रेस संसदीय दलको नेता चयन आज, मैदानमा काे-काे ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। दलको नेता चयन प्रक्रिया सञ्चालन गर्न गठित समितिले यसअघि सार्वजनिक तालिका परिमार्जन गर्दै नयाँ समयसूची अनुसार कार्यक्रम अघि बढाएको हो। 

संशोधित तालिकाअनुसार आज दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ता हुनेछ भने साँझ ४:३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। मतदान प्रक्रिया भने साँझ ५ बजेदेखि सुरु गरिनेछ।

प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसभित्र दलको नेता चयनमा सहमति जुटाउन कठिनाइ देखिएको छ। नेताहरूबीच आकांक्षा धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास अन्तिम समयसम्म जारी रहेको जनाइएको छ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा रहेको छ।

यदि अन्तिम समयमा सहमति जुट्न नसकेमा मतदानमार्फत नै नयाँ नेता चयन गरिने छ। कांग्रेसभित्रको आन्तरिक समीकरण र समर्थनको अवस्था हेर्दा प्रतिस्पर्धा रोचक हुने आँकलन गरिएको छ।