काठमाडौँ । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली र पहाडी क्षेत्रमा बदली तथा केही स्थानमा वर्षा भइरहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
मधेश प्रदेशका केही भूभागमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि हिमाली क्षेत्रमा बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। केही स्थानमा हल्का वर्षा वा हिमपात जारी रहने सम्भावना छ।
यसैबीच, देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्ने देखिएको छ। विशेषगरी तराई, उपत्यका र खोँच क्षेत्रमा गर्मी बढ्ने संकेत गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
दिउँसोको समयमा अत्यधिक घाम लाग्ने भएकाले आवश्यक सुरक्षा अपनाउन, प्रशस्त पानी पिउन र सकेसम्म बाहिर ननिस्कन सुझाव दिइएको छ।