काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहान सुरक्षाकर्मीको व्यापक परिचालनबीच खाली गराइएको छ। यसअघि पटक-पटक प्रयास गर्दा झडप हुने गरेको भए पनि यसपटक भने बस्ती हटाउने प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
सरकारले केही दिनअघि नै बस्ती खाली गर्न सूचना जारी गरेपछि धेरैजसो बासिन्दाले आफ्ना सामग्री सुरक्षित स्थानतर्फ सार्न सुरु गरेका थिए। शनिबार बिहान भने काठमाडौं महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले क्षेत्र खाली गराउँदै डोजर प्रयोग गरी अस्थायी टहरा हटाएको हो।
महानगरले बिहानैदेखि बस्ती खाली गराउन निर्देशन दिएको थियो भने स्थानीयलाई सामान सार्न थप समयसमेत उपलब्ध गराइएको जनाइएको छ। त्यसपछि डोजर प्रयोग गरेर घरटहरा हटाउने काम अघि बढाइएको हो।
यसअघि २०७९ सालमा पनि बस्ती हटाउने प्रयास गर्दा स्थानीयको प्रतिरोधका कारण झडप भएको थियो। तर यसपटक भने त्यस्तो अवस्था देखिएन र बासिन्दाले शान्त रूपमा स्थान छाडेका थिए। यद्यपि, केही स्थानीयले पर्याप्त समय नदिएको र वैकल्पिक व्यवस्था स्पष्ट नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
सरकारले बस्ती हटाइएका व्यक्तिहरूको व्यवस्थापनका लागि विभिन्न स्थानमा अस्थायी बसोबासको तयारी गरेको जनाएको छ। नागार्जुन, कीर्तिपुर, भक्तपुरलगायत क्षेत्रमा रहेका सरकारी भवन तथा खाली स्थानमा उनीहरूलाई राख्ने योजना अघि बढाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बस्ती हटाउने क्रममा प्रभावितलाई तत्काल खानपानको व्यवस्था गरिनुका साथै चरणबद्ध रूपमा पुनर्स्थापनाको काम अगाडि बढाइनेछ। आइतबारदेखि अन्य क्षेत्रका सुकुम्बासी बस्तीहरू पनि हटाउने तयारी रहेको बताइएको छ।