काठमाडौं । आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।
विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा छ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ।
विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो बढ्ने र गर्मी महसुस हुने जनाएको छ।
रातिको समयमा देशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोसी, मधेस, वाग्मती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।