कांग्रेसले बाेलायाे दलको नेता चयनदेखि अनुशासन मुद्दाबारे तीन अलग-अलग बैठक

एक महिना अगाडि
कांग्रेसले बाेलायाे दलको नेता चयनदेखि अनुशासन मुद्दाबारे तीन अलग-अलग बैठक

काठमाडौँ । नेपाली कांग्रेस भित्र संसदीय दलको नेता चयन र अनुशासनसम्बन्धी विवाद टुंग्याउन आज दिनभरि उच्चस्तरीय बैठकहरूको श्रृंखला बस्ने भएको छ। नेतृत्व चयनमा सहमति जुट्न नसक्दा प्रक्रिया जटिल बन्दै गइरहेका बेला पार्टीले तीनवटा छुट्टाछुट्टै बैठकमार्फत निष्कर्ष निकाल्ने प्रयास गरेको हो।

बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापा ले दलको नेताका लागि सहमतिको प्रस्ताव अघि सार्ने तयारी गरिएको छ। आन्तरिक रस्साकस्सीलाई मध्यनजर गर्दै सहमतिमै नाम टुंग्याउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

त्यसपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइली का अनुसार उक्त बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई औपचारिक रूप दिने, आवश्यक निर्णय अनुमोदन गर्ने र प्रक्रिया टुंग्याउने कार्यसूची तय गरिएको छ।

यसैबीच, दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ। समितिका सचिव दिनेश थापा मगर का अनुसार गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता तथा तिनका समर्थकहरूविरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ।

त्यसैगरी, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप जिल्ला सभापति कान्छाराम तामाङ सँग मागिएको स्पष्टीकरणबारे पनि आजै निर्णय हुन सक्ने बताइएको छ।

पार्टीभित्र नेतृत्व चयन र अनुशासन दुवै विषय एकैसाथ पेचिलो बन्दै गइरहेका बेला आजका बैठकहरूले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।