काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनअघि संगठनलाई तल्लो तहसम्म व्यवस्थित गर्ने लक्ष्यसहित चरणबद्ध कार्यतालिका पारित गरिएको छ। सोअनुसार जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका र वडा तहका संगठनहरूको समायोजन सम्पन्न गरिनेछ।
उनका अनुसार कार्यतालिकाअनुसार वडा, पालिका, जिल्ला र प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्दै राष्ट्रिय महाधिवेशनसम्म पुग्ने योजना तय गरिएको छ। “तय गरिएको कार्यतालिकाअनुसार सबै तहका अधिवेशन पूरा गर्दै मंसिर ११–१५ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको हो,” उनले बताए।
बैठकले आगामी कात्तिक १५ गतेभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्यसमेत तय गरेको छ। पार्टीले महाधिवेशनलाई संगठन पुनर्गठन र नेतृत्व सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।