काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मौसम सक्रिय रहने पूर्वानुमान गरिएको छ।
मौसमविद् सरोज पुडासैनी का अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम स्तरको वर्षा वा हिमपात हुन सक्छ। त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ।
बुधबारका लागि पनि मौसम पूर्ण रूपमा स्थिर रहने देखिँदैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, यीमध्ये कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
मौसमविद्हरूले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने तथा नदी–खोला आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। चट्याङ, आकस्मिक बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ।