दाङमा अतिक्रमण हटाउने तयारी: सबै पालिका प्रमुखलाई प्रशासनको बोलावट

एक महिना अगाडि
दाङमा अतिक्रमण हटाउने तयारी: सबै पालिका प्रमुखलाई प्रशासनको बोलावट

तुलसीपुर । सरकारी तथा सार्वजनिक जग्गामा बढ्दो अतिक्रमण हटाउने विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएको छ।

सरकारले चैत १४ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचिअन्तर्गत यो पहल गरिएको हो। उक्त कार्यसूचिको बुँदा नम्बर ९२ मा नयाँ अतिक्रमण रोक्न कडाइ गर्ने र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य तत्काल सुरु गर्ने उल्लेख छ।

सोही निर्देशनलाई कार्यान्वयन गर्ने क्रममा प्रशासनले पालिका प्रमुखहरूलाई छलफलका लागि आह्वान गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिएका छन्।

छलफल स्वास्थ्य कार्यालयको सभाहलमा तय गरिएको छ। संघीय सरकारको प्रतिनिधिका रूपमा रहेको प्रशासनले स्थानीय तहसँग समन्वय गरी अतिक्रमण नियन्त्रणका लागि ठोस कदम चाल्ने तयारी गरेको जनाएको छ।