काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र औपचारिक सम्बोधन र राजनीतिक अभ्यासमा नयाँ मापदण्ड लागू गर्ने संकेत दिएको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले पार्टीका सांसदलाई आफ्नो नामअगाडि ‘माननीय’ शब्द प्रयोग नगर्न स्पष्ट निर्देशन दिएका हुन्। उनले लेटरहेड, परिचयपत्रलगायत सबै आधिकारिक कागजातमा एकरूपता कायम गर्न पनि जोड दिएका छन्।
उनका अनुसार जनप्रतिनिधिले पदभन्दा काम र व्यवहारबाट पहिचान बनाउनु आवश्यक रहेको भन्दै औपचारिक सम्बोधनभन्दा कार्यशैलीमा सुधार महत्वपूर्ण हुने बताए।
त्यसैगरी उनले सांसदहरूलाई ‘मेन्टर’ र ‘सल्लाहकार’सँग नियमित परामर्श गर्ने अभ्यास विकास गर्न सुझाएका छन्। नयाँ पुस्ताको नेतृत्व भएकाले अझ धेरै सिक्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले उम्मेदवार चयन प्रक्रियामा कडाइ गर्ने संकेत पनि दिएको छ। सभापति लामिछानेले कसैसँग पनि टिकटको प्रतिबद्धता नगर्न स्पष्ट निर्देशन दिँदै त्यस्तो अभ्यास भेटिएमा कारबाही हुने चेतावनी दिएका छन्।
पार्टीले उम्मेदवार छनोट र पूर्वतयारीलाई व्यवस्थित बनाउन वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसमार्फत सम्भावित उम्मेदवारलाई प्रशिक्षण र मूल्याङ्कन गरिने बताइएको छ।