काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दैछ। कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरीय भेला बोलाएका हुन्।
बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), संघीय सांसद तथा पूर्वसांसद, जिल्ला सभापति, पूर्व जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको छ। भेलामा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक रणनीति र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।
यसअघि बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर आन्तरिक छलफल गरेका थिए।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र गुटगत ध्रुवीकरण अझै कायमै रहेको देखिन्छ। एक समूहले अर्को समूहलाई पूर्ण रूपमा स्वीकार्न नसक्दा पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन भइरहेको छ, जसले संगठनात्मक एकता कमजोर बनाएको विश्लेषण गरिएको छ।