‘पहिलो पाइला एजुकेसन’को ब्रान्ड एम्बेसडरमा केकी अधिकारी

एक महिना अगाडि
‘पहिलो पाइला एजुकेसन’को ब्रान्ड एम्बेसडरमा केकी अधिकारी

काठमाडौँ । नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आउन लागेको पहिलो पाइला एजुकेसनले आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा अभिनेत्री केकी अधिकारीलाई अनुबन्धित गरेको छ।

विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकालाई लक्षित गर्दै सुरु गर्न लागिएको यो डिजिटल स्कुलले आधुनिक प्रविधिमार्फत भाषा र संस्कार सिकाउने लक्ष्य राखेको छ। संस्थाका अनुसार बालबालिकालाई नेपाली भाषा मात्र नभई सांस्कृतिक मूल्य, परम्परा र पहिचानसँग जोड्ने प्रयास गरिनेछ।

यस डिजिटल स्कुलमा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमलाई आधुनिक सिकाइ पद्धतिसँग संयोजन गरी प्रस्तुत गरिने जनाइएको छ। खेल्दै–सिक्दै गर्ने अवधारणामा आधारित सामग्रीमार्फत बालबालिकाले विज्ञान, गणित र सामाजिक विषयहरू पनि नेपाली भाषामै बुझ्न सक्ने व्यवस्था मिलाइनेछ।

यसै परियोजनाअन्तर्गत तयार पारिएको डिजिटल एप छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ। एपमार्फत संसारका जुनसुकै स्थानमा रहेका बालबालिकाले सजिलै पहुँच पाउने र नेपाली भाषा–संस्कृतिसँग जोडिने अपेक्षा गरिएको छ।