काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम उक्त बोर्ड गठन गरिएको हो। पार्टीभित्र संसदीय गतिविधिलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक बनाउन बोर्डको अवधारणा अघि सारिएको जनाइएको छ। दुलालका अनुसार बैठकमा बोर्डका सबै सदस्यहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बोर्डको नेतृत्व पार्टी सभापतिले गर्ने व्यवस्था गरिएको छ। बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकहरू तथा महामन्त्रीहरू सदस्य रहनेछन्। साथै आवश्यकताअनुसार संसदीय समितिमा रहेका प्रमुख नेताहरू, वरिष्ठ नेता तथा विज्ञहरूलाई पनि सहभागी गराउने व्यवस्था गरिएको छ।
कांग्रेसले संसद्मा एकीकृत धारणा प्रस्तुत गर्न, विधेयक तथा नीतिगत विषयमा स्पष्ट रणनीति तय गर्न र गठबन्धन राजनीतिमा समन्वय गर्न बोर्डलाई प्रमुख संयन्त्रका रूपमा अघि सारेको हो। विशेषगरी संसद्मा पार्टीको धारणा फरक–फरक रूपमा नआओस् र निर्णय प्रक्रियामा एकरूपता कायम होस् भन्ने उद्देश्य राखिएको बताइएको छ।
यस बोर्डले सांसदहरू र पार्टी नेतृत्वबीच समन्वयको पुलको काम गर्ने विश्वास गरिएको छ। साथै संसदीय गतिविधिमा देखिने असमञ्जसता घटाउँदै प्रभावकारी प्रतिपक्ष वा सत्तापक्षको भूमिकामा कांग्रेसलाई मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।