आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धा

३ हप्ता अगाडि
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धा

काठमाडौं । सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधिअनुसार खुला आवेदन आह्वान गर्दै छनोट प्रक्रिया सुरु गरेको छ। शिक्षा मन्त्रालयले लागू गरेको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार अब नियुक्ति प्रक्रिया प्रतिस्पर्धात्मक, पारदर्शी र योग्यता आधारित हुने दाबी गरिएको छ।

नयाँ व्यवस्थाअनुसार उम्मेदवारसँग विद्यावारिधि उपाधि, कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव अनिवार्य हुनेछ। साथै राजनीतिक दलको सदस्य नरहेको र बौद्धिक चोरी नगरेको स्वघोषणा पनि आवश्यक पर्नेछ।

मन्त्रालयका अनुसार विज्ञ समितिले शैक्षिक योग्यता, भिजन पेपर र प्रस्तुतीकरणको आधारमा मूल्यांकन गरी उत्कृष्ट १० जनाको नाम छनोट गर्नेछ। विशेषगरी भिजन पेपर मूल्यांकनमा उम्मेदवारको नाम गोप्य राखी “डबल कोडिङ” प्रणाली प्रयोग गरिने जनाइएको छ।