काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभामा रहेका रास्वपाका सांसदहरूलाई संसदीय भूमिका, विधेयक प्रक्रिया, नीतिगत बहस, सार्वजनिक अभिव्यक्ति तथा संसद्को कार्यशैलीलगायत विषयमा प्रशिक्षण दिइने जनाइएको छ।
प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार प्रशिक्षण आज र भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सांसदहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्न पार्टीले निर्देशनसमेत जारी गरेको छ। पार्टीले नयाँ राजनीतिक अभ्यासलाई प्रभावकारी बनाउन सांसदहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको जनाएको छ।