रास्वपाको सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल हुने

३ हप्ता अगाडि
रास्वपाको सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा साँझ ६ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा पार्टीको आगामी भेला तथा अधिवेशनको कार्यतालिकामाथि मुख्य रूपमा छलफल हुने जनाइएको छ। साथै विभिन्न आयोग र विभागमा रिक्त रहेका पदाधिकारी नियुक्तिको विषय पनि एजेन्डामा समावेश गरिएको छ।

पार्टीको संगठनात्मक संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले केही जिल्ला समितिको पुनर्संरचना र नयाँ व्यवस्थापनबारे पनि निर्णय हुन सक्ने बताइएको छ।

यसैगरी, आन्तरिक अनुशासनसँग सम्बन्धित प्रस्ताव तथा अनुशासनात्मक कारबाहीका विषयमा समेत सचिवालयमा छलफल हुने तयारी छ। बैठकले आगामी केन्द्रीय समिति बैठकको तयारी, कार्ययोजना र समसामयिक राजनीतिक विषयमा समेत धारणा तय गर्ने बताइएको छ।