काठमाडौं । रवि लामिछानेले जनताले देशको अवस्था बदल्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको बताएका छन् ।
आइतबार पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने क्रममा उनले पार्टीभित्र योगदानको मूल्य माग्ने प्रवृत्ति बढेकोप्रति दुःख व्यक्त गरे । “यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन । मैले पनि मूल्य माग्नेगरी योगदान दिएको छैन, योगदान त अब दिने हो,” उनले भने ।
उनले मन्त्री बन्न नपाएको विषयलाई ठूलो मुद्दा नबनाउन सांसदहरूलाई आग्रह गरे । आफूहरू ठूलो जनमतसहित संसद्मा पुगे पनि सबैलाई मन्त्री बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले कतिपय सांसदमा समिति सभापति नबनाइएको वा जिम्मेवारी नपाएको गुनासो रहेको बताए ।
लामिछानेले सांसदका रूपमा कानुन निर्माण र नीतिगत सुधारमार्फत देशलाई योगदान दिन सकिने भन्दै मन्त्री पदलाई मात्रै प्रतिष्ठाको मापन बनाउनु गलत हुने धारणा राखे ।
उनले सांसदहरूलाई सार्वजनिक अभिव्यक्तिमा पनि संयम अपनाउन निर्देशन दिए । अन्तर्वार्ता वा सामाजिक सञ्जालमा पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिँदा विवाद उत्पन्न हुने भएकाले सतर्क रहन आग्रह गरे ।
प्रशिक्षणका क्रममा उनले “बालेन कि रवि” भन्ने समूहगत चर्चा गर्ने केही नेताहरूको मन्त्री बन्ने सम्भावना समेत गुमेको खुलासा गरे । वालेन्द्र शाह र आफूबीच विभाजन गराएर राजनीति गर्न खोज्ने प्रयास सफल नहुने उनले बताए ।
“हामी राजनीतिक रूपमा परिपक्व भइसकेका छौँ,” भन्दै उनले पार्टीभित्र गुटबन्दीमा लाग्नेहरूलाई आगामी निर्वाचनमा टिकटसमेत नपाउन सक्ने चेतावनी दिए ।