कम्युनिस्ट एकताको आवश्यकता बढेको प्रचण्डको भनाइ

३ हप्ता अगाडि
कम्युनिस्ट एकताको आवश्यकता बढेको प्रचण्डको भनाइ

काठमाडौं । प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले कम्युनिस्ट दलहरूबीच एकताको आवश्यकता अझ बढाएको बताएका छन् ।

निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले विचार, राजनीति र संगठनका आधारमा कम्युनिस्ट एकता अब बाध्यात्मक बन्दै गएको बताए ।

उनले विगतका मतभेदमा अल्झिरहनुभन्दा वर्तमान चुनौती सामना गर्न कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे । दक्षिण एसियाबाट कम्युनिस्ट आन्दोलन समाप्त हुँदै गएको भन्ने चर्चा चलिरहेको उल्लेख गर्दै उनले त्यसविरुद्ध सचेत भएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने तथा राष्ट्रिय स्वाधीनतामाथि असर पार्ने प्रयास भइरहेको दाबी पनि गरे । स्थानीय तहदेखि नै वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्यको आवाज उठिरहेको उनले बताए ।

उनले गणतन्त्र र लोकतन्त्र जोगाउन साझा मोर्चा आवश्यक रहेको उल्लेख गर्दै वालेन्द्र शाह नेतृत्वको सरकारमाथि श्रमजीवी, गरिब र निमुखा वर्गमाथि दबाब सिर्जना गरेको आरोप लगाए ।