ओली–भण्डारी भेटपछि एमालेभित्र नेतृत्व बहस फेरि तातियो

३ हप्ता अगाडि
ओली–भण्डारी भेटपछि एमालेभित्र नेतृत्व बहस फेरि तातियो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार लामो छलफल भएको छ ।

भक्तपुरको गुण्डुस्थित निवासमा भएको भेट करिब दुई घण्टा चलेको एमाले स्रोतले जनाएको छ । भेटमा भण्डारीले स्वास्थ्यलाभ गरिरहेका ओलीको अवस्था बुझ्नुका साथै पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेको बताइएको छ ।

एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चलिरहेका बेला केही नेताले भण्डारीको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । पछिल्लो समय ओली र भण्डारीबीच सम्बन्ध सुधार भएको चर्चा पनि भइरहेको छ ।

राजनीतिक वृत्तमा उक्त भेटलाई एमालेको भावी शक्ति सन्तुलन र नेतृत्व व्यवस्थासँग जोडेर चासोका साथ हेरिएको छ ।