काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेशस्तरीय भेलाले १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन साझा सहमतिको संयन्त्र गठन गर्न माग गरेको छ।
काठमाडौंमा बुधबार सम्पन्न भेलाले मनोमानी ढंगले विधान संशोधन गर्न नहुने स्पष्ट अडान लिएको हो। समूहले विभिन्न विचार समूहसँग परामर्श नगरी गरिएको केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको वातावरण बिगारेको आरोप लगाएको छ। संवाद, सहमति र सहकार्यबाट मात्रै पार्टीभित्रको एकता कायम गर्न सकिने निष्कर्ष भेलाले निकालेको छ।
साथै पूर्ण महासमिति बैठक तत्काल बोलाउन र जिल्ला तहमा भइरहेको अनुशासन कारबाही रोक्न पनि माग गरिएको छ। निर्वाचनमा असहयोग गरेको आरोपमा कार्यकर्तामाथि भइरहेको कारबाहीप्रति देउवा पक्षले आपत्ति जनाएको छ।