भक्तपुर । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बोलाइएको छ।
बैठकमा पार्टीभित्रको कार्यविभाजन, गत निर्वाचनको समीक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी रहेको एमाले नेताहरूले बताएका छन्। यद्यपि बैठकका औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन।
एमालेका एक नेताका अनुसार सचिवालय बैठकमा पार्टी संगठनलाई थप प्रभावकारी बनाउने विषयमा पनि कुराकानी हुन सक्छ। “औपचारिक रूपमा एजेन्डा दिइएको छैन, तर कार्यविभाजन, निर्वाचन समीक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने सम्भावना छ,” ती नेताले बताए।
पछिल्लो समय नेपाली कांग्रेस र एमालेबीच प्रदेश सरकारको समीकरण परिवर्तनबारे निरन्तर संवाद भइरहेको छ। सत्ता साझेदारीसम्बन्धी सहमति कार्यान्वयनका लागि केही प्रदेशमा सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला सचिवालय बैठकमा त्यस विषयमा पनि विचार-विमर्श हुन सक्ने बताइएको छ।
एमाले अध्यक्ष ओली पक्राउ परेपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको भएकाले पनि बैठकलाई चासोका साथ हेरिएको छ। पार्टीभित्र पछिल्लो राजनीतिक घटनाक्रम, सरकार सञ्चालन र आगामी रणनीतिबारे समेत नेताहरूबीच धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ।