काठमाडौं । नेकपा (एमाले)को आज बस्ने तय भएको सचिवालय बैठक स्थगित गरिएको छ। बैठक अब सोमबार बस्ने एमालेले जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे भक्तपुरस्थित आफ्नै निवास गुन्डुमा बैठक बोलाएका थिए। तर मदन–आश्रित स्मृति दिवस कार्यक्रमको तयारीका कारण बैठक सारिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार स्मृति दिवस कार्यक्रमको व्यवस्थापन र सहभागिताका लागि नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। उनले केही नेताहरू उपत्यकाबाहिर समेत जानुपर्ने अवस्था रहेकाले बैठक सोमबारका लागि सारिएको बताए।
यो एमालेको आठौँ सचिवालय बैठक हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने तयारी गरिएको छ।
यस्तै सरकारका कामकारबाही, जनअपेक्षा र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा पनि समीक्षा हुने एमाले नेताहरूले बताएका छन्। बैठकले पार्टीको भावी कार्यदिशाबारे महत्त्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ।