के कांग्रेस फुट्ला ? पूर्णबहादुर खड्काकाे कडा चेतावनी

२ हप्ता अगाडि
के कांग्रेस फुट्ला ? पूर्णबहादुर खड्काकाे कडा चेतावनी

सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी नेतृत्व र कार्यकर्ताबीचको दूरी बढ्दै जाँदा संगठन विभाजनतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् ।

शनिबार (जेठ २) कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले सानेपास्थित केन्द्रीय नेतृत्व र जिल्लातहका कार्यकर्ताबीच गहिरो दूरी पैदा भएको बताए । अहिलेको नेतृत्वमा अहंकार, व्यक्तिगत स्वार्थ र पारिवारिक प्रभाव हाबी भएको आरोप समेत उनले लगाए ।

खड्काले पार्टीभित्र संवादको संस्कार कमजोर बन्दै गएको उल्लेख गर्दै नेतृत्वले आफ्ना कमजोरी स्वीकार गरी सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । अनुशासन र कारबाहीलाई कार्यकर्तामाथि दबाब सिर्जना गर्ने माध्यम बनाइएको भन्दै उनले असन्तुष्टि जनाए ।

“भोट नदिएको आधारमा कार्यकर्तामाथि कारबाही गर्नु उचित होइन,” उनले भने, “जिम्मेवार नेताहरूबाटै विभाजन बढाउने अभिव्यक्ति आउँदा संगठन थप कमजोर भइरहेको छ ।”

उनले पार्टीभित्रको आन्तरिक कमजोरीले राष्ट्रिय राजनीतिमा समेत नकारात्मक असर पर्न थालेको दाबी गरे । वर्तमान र पूर्व नेतृत्वलाई गाउँबस्तीमा पुगेर कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्न तथा संगठनभित्रको एकता जोगाउन उनले आग्रह गरे ।

पछिल्ला निर्वाचनमा आएको कमजोर नतिजापछि पार्टी नेतृत्वले गम्भीर समीक्षा गरेर सुधारको मार्ग अपनाउनुपर्ने खड्काको भनाइ थियो ।