काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ ।
गत वैशाख २० गतेअघि गठन भएका तदर्थ समितिमध्ये करिब १५ सय वडामा आज अधिवेशन हुन लागेको पार्टीको संगठन विभागले जनाएको छ । रास्वपाका अनुसार देशभर झन्डै ३ हजार वडामा तदर्थ समिति गठन भइसकेको छ । तीमध्ये आधाभन्दा बढी वडाको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको र बाँकी वडामा आज अधिवेशन गरिने बताइएको छ ।
रास्वपाले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ । जेठ ३ गतेअघि तदर्थ समिति गठन हुने वडाहरूको अधिवेशन भने जेठ १६ गतेका लागि तय गरिएको छ ।
पालिकास्तरीय अधिवेशन पनि दुई चरणमा हुनेछ । पार्टीले जेठ ९ र १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । साथै, कुनै पालिकाका ३० प्रतिशत वडा तथा जिल्लाका ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भए उपल्लो तहको अधिवेशन नरोक्ने निर्णय गरिएको जनाएको छ ।
पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्नेछ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भएर असार १ गतेसम्म चल्नेछ ।
रास्वपाको पहिलो केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय गरिएको छ । पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिन महाधिवेशन सुरु हुने गरी मिति निर्धारण गरिएको हो ।