प्रचण्डको आरोप– सरकार सही दिशामा छैन

२ हप्ता अगाडि
प्रचण्डको आरोप– सरकार सही दिशामा छैन

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको आरोप लगाएका छन् । वीरेन्द्रनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार जनताका आधारभूत समस्या समाधानभन्दा सत्ता जोगाउने खेलमा केन्द्रित भएको टिप्पणी गरे ।

उनले सुकुमबासी समस्या, ट्रेड युनियनका अधिकार, विद्यार्थी आन्दोलन र संविधान संशोधनजस्ता महत्वपूर्ण विषयलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । संसद्लाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै उनले त्यसलाई “लाजमर्दो” कार्यको संज्ञा दिए ।

प्रचण्डले एमाले र कांग्रेसले मिलेर प्रदेश सरकार गठनका लागि प्रस्ताव गरे पनि आफ्नो पार्टीले अस्वीकार गरेको दाबी गरे । देशमा राजनीतिक स्थायित्व र जनतालाई राहत दिन कांग्रेस, एमाले, नेकपा र मधेसकेन्द्रित दलहरूबीच साझा सरकार बन्नुपर्ने उनको भनाइ थियो ।

उनले सरकारका गतिविधि निरन्तर जनविरोधी बने जनस्तरबाट प्रतिवाद हुने चेतावनीसमेत दिए ।