काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट निवेदन दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।
रास्वपाकी सांसद समीक्षा बास्कोटा र सांसद यज्ञमणि न्यौपानेले संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर गरिएको रिट दर्ता गर्न आदेश दिनु कानुनी अभ्यासविपरीत भएको बताएका हुन् ।
उनीहरूले स्वतन्त्र न्यायपालिकाको सम्मान गरिए पनि न्याय प्रशासनभन्दा बाहिर गएर हुने गतिविधि स्वीकार्य नभएको धारणा राखे ।
त्यसपछि नेकपा एमालेका सांसदहरूले नियमापत्ति जनाउँदै न्यायिक विषय संसद्मा छलफल गर्न नमिल्ने उल्लेख गरे ।
यसअघि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियाअनुसार दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।
कानुन व्यवसायीहरूले अदालत प्रशासनले रिट दर्ता नगरेको गुनासो गरेपछि उनले यस्तो आदेश दिएकी हुन् । साथै ती सबै रिट जेठ ५ गतेका लागि पेसीमा राख्न पनि निर्देशन दिइएको छ ।
आदेशमा न्याय प्राप्तिको बाटो अवरुद्ध गर्नु अदालतप्रतिको जनविश्वास कमजोर बनाउने कार्य हुने उल्लेख गरिएको छ ।