काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गर्ने वडा सभापतिमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार परिपत्र जारी गर्दै देशभरका ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई जेठ २१ गतेभित्र सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएका हुन् ।
परिपत्रमा वडा सभापतिहरूलाई सदस्यहरूको विवरण समयमै अद्यावधिक गर्न भनिएको छ भने त्यसको अनुगमन पालिका कार्यसमितिले गर्ने उल्लेख गरिएको छ ।
कांग्रेसले सदस्यता अद्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पनि पालिका कार्यसमितिलाई निर्देशन दिएको छ ।
पार्टीले यसपटक सदस्यता वितरण र अभिलेखीकरणलाई व्यवस्थित बनाउन डिजिटल प्रणालीको प्रयोग सुरु गरेको जनाएको छ । कांग्रेसले पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सदस्यता अभिलेखलाई डिजिटल र पारदर्शी बनाउने प्रक्रिया अघि बढाएको हो ।