एमालेमा कार्यविभाजनको तयारी, बादलदेखि महेश बस्नेतसम्मलाई जिम्मेवारी प्रस्ताव

२ हप्ता अगाडि
एमालेमा कार्यविभाजनको तयारी, बादलदेखि महेश बस्नेतसम्मलाई जिम्मेवारी प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले विभागीय प्रमुख र संगठन इन्चार्जहरूको प्रस्तावित सूची तयार गरेको छ । शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकमा उक्त सूचीमाथि छलफल हुने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबारको सचिवालय बैठकमा कार्यविभाजनसम्बन्धी प्रारम्भिक प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावअनुसार विभिन्न उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय सदस्यहरूलाई विभागीय जिम्मेवारी बाँडफाँट गरिएको छ ।

प्रस्तावित सूचीमा रामबहादुर थापा ‘बादल’लाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिइने उल्लेख छ । उपाध्यक्ष विष्णु पौडेललाई पार्टीसम्बद्ध विभाग, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकाससम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार विकाससम्बद्ध विभाग तथा रघुजी पन्तलाई मानवस्रोतसम्बद्ध विभागको संयोजन जिम्मेवारी प्रस्ताव गरिएको छ ।

महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक काम तथा केन्द्रीय कार्यालय संयोजनको जिम्मेवारी दिने प्रस्ताव छ । उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता क्षेत्रको संयोजन तथा योगेश भट्टराईलाई नीति तथा योजनासम्बद्ध विभागहरूको संयोजन जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

सचिवहरूमा छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी प्रदेश इन्चार्ज, यमलाल कँडेललाई कर्णाली प्रदेश इन्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख तथा हिक्मतकुमार कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको छ ।

केन्द्रीय सदस्यहरूमा गोकुल बाँस्कोटालाई भूमि व्यवस्था विभाग, डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभाग, शेरबहादुर तामाङलाई पार्टी स्कुल विभाग, आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन विभाग तथा कर्ण थापालाई उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

रामकुमारी झाँक्रीलाई शहरी विकास विभाग प्रमुख, विन्दा पाण्डेलाई श्रम तथा रोजगार विभाग प्रमुख, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख तथा पार्वती रावललाई शिक्षा तथा मानवस्रोत विभाग प्रमुख बनाउने प्रस्ताव पनि गरिएको छ ।

यस्तै, विभिन्न फाँट तथा जनवर्गीय संगठनका इन्चार्जहरूको नाम पनि प्रस्ताव गरिएको छ ।

एमाले सचिवालय बैठकले यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरिसकेको छ । कार्यविभाजनबारे अन्तिम निर्णय भने शुक्रबारको बैठकबाट हुने बताइएको छ ।