काठमाडौं । नेकपा (एमाले) भित्र पछिल्ला दिनमा देखिएको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक बहसमा रूपान्तरित हुन थालेको छ। पार्टी सचिवालय बैठकमा अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणबारे सोच्नुपर्ने धारणा राखेपछि एमालेभित्रको शक्ति सन्तुलन नयाँ मोडमा पुगेको संकेत देखिएको छ।
पार्टीभित्र “रुपान्तरण” र “पुनर्गठन” को बहस तीव्र भइरहेका बेला सचिवालयका करिब ८० प्रतिशत सदस्यले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाएको दाबी गरिएको छ। यसले एमालेभित्र अब केवल सामान्य असन्तुष्टि नभई संरचनागत संकट गहिरिँदै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
किन बढ्यो ओलीविरुद्ध असन्तुष्टि?
एमालेभित्र पछिल्लो समय नेतृत्वप्रति असन्तुष्टि बढ्नुका पछाडि केही मुख्य कारण देखिन्छन्। पहिलो, पार्टीभित्र निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको गुनासो। दोस्रो, जनमतमा पार्टीको प्रभाव क्रमशः कमजोर बन्दै गएको चिन्ता। तेस्रो, नयाँ पुस्तालाई अवसर नदिएको आरोप।
स्थानीय तहदेखि प्रदेश र जिल्ला संरचनासम्म संगठन चलाउन कठिन भएको भन्दै केही नेताहरूले बैठकमै खुलेर धारणा राखेका छन्। “तल पार्टी जोगाउन कठिन भयो” भन्ने सन्देश सचिवालयमै उठ्नु नेतृत्वप्रतिको गम्भीर चेतावनीका रूपमा हेरिएको छ।
विशेषगरी सचिव हिक्मत कार्की, पद्मा अर्याल र राजन भट्टराईजस्ता नेताहरूले संगठन सञ्चालनमै समस्या देखिएको बताएका छन्। उनीहरूले प्रत्यक्ष रूपमा “ओलीले छाड्नुपर्छ” नभने पनि “अब नेतृत्वले सोच्नुपर्छ” भन्ने संकेत दिएका छन्। एमाले वृत्तमा यसलाई नेतृत्व परिवर्तनको कोड भाषाका रूपमा बुझिएको छ।
महासचिवदेखि सचिवसम्म एउटै लाइनमा
शनिबार महासचिव शंकर पोखरेलसहित उपमहासचिव र अधिकांश सचिवहरूले पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राख्नु एमालेभित्रको शक्ति समीकरण बदलिँदै गएको संकेत हो।
एमालेको संरचनामा महासचिवलाई संगठन सञ्चालनको केन्द्र मानिन्छ। महासचिव स्वयंले रुपान्तरणको बहसलाई समर्थन गर्नु सामान्य घटना मानिएको छैन। यसले अध्यक्ष ओली अब पार्टीभित्र पूर्ण नियन्त्रणको अवस्थामा नरहेको सन्देश दिएको छ।
यद्यपि, ओली निकट मानिएका केही नेताहरू भने अझै उनको पक्षमा उभिएका छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संकटको बेला नेतृत्वको रक्षा गर्नुपर्ने बताएका छन् भने सचिव महेश बस्नेतले पनि ओलीकै पक्ष लिएका छन्। तर संख्यात्मक रूपमा ओली पक्ष कमजोर देखिन थालेको टिप्पणी एमालेभित्रै हुन थालेको छ।
ओली पछि हट्न तयार छैनन्
अध्यक्ष ओलीले भने आफू महाधिवेशनबाट निर्वाचित नेतृत्व भएकाले सहजै पद नछाड्ने स्पष्ट संकेत दिएका छन्। उनले बैठकमा आफ्नाविरुद्ध उठेका धारणाको प्रतिवाद गर्दै “निर्वाचित नेतृत्वलाई अस्थिर बनाउन नहुने” तर्क राखेको स्रोतहरू बताउँछन्।
ओलीको बुझाइमा अहिलेको दबाब केवल नेतृत्व परिवर्तनको माग होइन, पार्टीभित्र शक्ति पुनःवितरणको प्रयास पनि हो। त्यसैले उनी तत्काल पछि हट्ने मनस्थितिमा नरहेको देखिन्छ।
एमालेभित्र ओली अझै पनि सबैभन्दा प्रभावशाली नेता मानिन्छन्। पार्टी संगठन, कार्यकर्ता तह र सत्ता सञ्चालनको अनुभवका हिसाबले उनको प्रभाव कायम नै छ। तर पछिल्ला राजनीतिक उतारचढाव, चुनावी चुनौती र आन्तरिक ध्रुवीकरणले उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको देखिन्छ।
एमाले अहिले दुई सम्भावित मोडमा उभिएको देखिन्छ। पहिलो, ओली नेतृत्वमै पार्टीलाई पुनर्गठन गर्ने प्रयास। दोस्रो, क्रमशः नेतृत्व हस्तान्तरणको वातावरण बनाउने रणनीति। यदि सचिवालय र स्थायी कमिटी तहमा नेतृत्व परिवर्तनको आवाज अझ बलियो बन्दै गयो भने आगामी महाधिवेशनसम्म एमालेभित्र खुला ध्रुवीकरण हुन सक्ने सम्भावना देखिन्छ। अर्कोतर्फ ओलीले संगठनात्मक पकड प्रयोग गरेर असन्तुष्ट पक्षलाई व्यवस्थापन गर्ने प्रयास पनि गर्न सक्छन्।
एमालेभित्र अहिले उठिरहेको बहस केवल व्यक्ति परिवर्तनको मात्र होइन, पार्टीको आगामी दिशा, शैली र पुस्तान्तरणसँग पनि जोडिएको देखिन्छ। त्यसैले आगामी केही बैठक र निर्णयहरूले एमालेको भविष्यको राजनीतिक मार्ग तय गर्न सक्ने विश्लेषण भइरहेको छ।