काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीको केन्द्रीय कार्यसमिति २४० सदस्यीय हुने भएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार अब १७१ जना निर्वाचित हुनेछन् भने सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि १४औँ महाधिवेशनमा १६८ सदस्यीय र १३औँ महाधिवेशनमा ८५ सदस्यीय केन्द्रीय समिति रहेको थियो। नयाँ व्यवस्थाअनुसार ११ सहमहामन्त्रीमध्ये तीन जना सभापतिबाट मनोनित हुने प्रावधान पनि राखिएको छ।
कांग्रेसले युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न संगठनात्मक संरचना विस्तार गरिएको जनाएको छ। नयाँ व्यवस्थाले समावेशी सहभागिता र आन्तरिक सन्तुलन बलियो बनाउने विश्वास पार्टी नेतृत्वको छ।