काठमाडौं । सामाजिक सञ्जालमा ‘तुलसा अधिकारी’ नामले परिचित तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो। अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।
प्रहरीका अनुसार उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। अन्तर्राष्ट्रिय प्रहरी संगठनको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। एक व्यवसायीले आफूलाई बलात्कार मुद्दामा फसाउने धम्की दिएर नगद तथा जिन्सी गरी करोडौं रुपैयाँ असुल गरेको आरोप लगाएका छन्। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।