राप्रपामा विभाजनको संकेत, सामूहिक राजीनामाको तयारीमा इतर समूह

४ दिन अगाडि
राप्रपामा विभाजनको संकेत, सामूहिक राजीनामाको तयारीमा इतर समूह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको छ। पार्टीको इतर समूह सामूहिक राजीनामाको तयारीसहित आन्तरिक छलफलमा जुटेको छ।

काठमाडौंमा उपलब्ध नेता तथा केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको छ। बैठकअघि शीर्ष नेताहरूबीच भएको छलफलमा आगामी रणनीति र संगठनात्मक भविष्यबारे विचारविमर्श भएको बताइएको छ।

इतर पक्षले सुरुमा सामूहिक राजीनामा घोषणा गर्ने तयारी गरे पनि केही दिन समय थप्ने विकल्पमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ। पार्टीभित्र असन्तुष्ट पक्षले बढीभन्दा बढी नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राखेको छ।

यसैबीच राप्रपाका पूर्वअध्यक्षहरूले पार्टी नछाड्न आग्रह गर्दै अपिल जारी गरेका छन्। तर इतर पक्षका नेताहरू भने पार्टीभित्र बस्ने सम्भावना न्यून रहेको संकेत गरिरहेका छन्।

बैठकमा नेता दिलनाथ गिरीले निकट भविष्यमा सामूहिक राजीनामाको औपचारिक घोषणा गर्ने प्रस्ताव राखेको बताइएको छ। असन्तुष्ट समूहले आजैदेखि हस्ताक्षर संकलन अभियान पनि सुरु गर्ने तयारी गरेको जनाएको छ।