काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारतमा रहने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ।
पार्टीद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्। भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग समेत छलफल तथा भेटघाटको कार्यक्रम रहेको बताइएको छ।
भ्रमणका क्रममा भारतमा बसोबास गरिरहेका नेपाली समुदायका सदस्य तथा रास्वपाका शुभेच्छुकहरूसँग पनि सभापति लामिछानेले अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। साथै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्याको भ्रमणसमेत गर्ने जनाइएको छ।
लामिछानेको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहनेछन्।
रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका विभिन्न भेटघाट तथा कार्यक्रमका लागि आवश्यक समन्वय गरिरहेको छ।
रास्वपाले यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।