काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सामाजिक समानता, सद्भाव र न्यायको पक्षमा थप प्रतिबद्ध हुन आह्वान गरेका छन्।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको शुभकामना व्यक्त गरेका छन्। उनले विभेदरहित, समावेशी र सभ्य समाज निर्माणका लागि दिवसले सबैलाई प्रेरणा प्रदान गरेको उल्लेख गरेका छन्।
वि.सं. २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशी र सहभागितामूलक समाज निर्माणका लागि सबै प्रकारका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले जातीय विभेद र छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाले मात्र सम्भव नहुने उल्लेख गर्दै समाजका सबै तहमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुन आवश्यक रहेको बताएका छन्।
सन्देशमा जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराधको रूपमा व्याख्या गर्दै सबै व्यक्ति, परिवार, समुदाय, राजनीतिक दल, सरकारी निकाय, नागरिक समाज तथा सञ्चार क्षेत्रलाई विभेदविरुद्ध दृढतापूर्वक उभिन आग्रह गरिएको छ।
राष्ट्रपतिले विविधताभित्रको एकतालाई अझ बलियो बनाउँदै समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माणमा सबै नेपालीको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।