रवि लामिछानेको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाँदै

१३ घण्टा अगाडि
रवि लामिछानेको भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाँदै

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर को औपचारिक निमन्त्रणामा मन्त्री खनालले शुक्रबार र शनिबारमा भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। खनाल शुक्रबार दिल्ली प्रस्थान गर्नेछन् ।

रास्वपा सभापति लामिछाने भारतमै रहेका बेला परराष्ट्रमन्त्रीको भ्रमण तालिका सार्वजनिक भएको हो। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न द्विपक्षीय विषयमा छलफलसँगै केही समझदारी हुनेछ।

रास्वपाका सचिवालय सदस्य दीपक बोहराका अनुसार भ्रमणमा दुई देशबीचका साझा चासो, सहकार्य र हितका विषयलाई प्राथमिकताका साथ एजेन्डामा राखिनेछ । त्यसका लागि विभिन्न विषयगत मुद्दाको सूची तयार गरी छलफल अगाडि बढाइने तयारी गरिएको छ।

यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलन का क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए। आगामी भ्रमणलाई दुई देशबीचको कूटनीतिक संवादलाई थप सक्रिय बनाउने अवसरका रूपमा हेरिएको छ।