माैसम पूर्वानुमान

तातो हावाको लहरसँगै तराईमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुग्ने

एक घण्टा अगाडि
तातो हावाको लहरसँगै तराईमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुग्ने

काठमाडौं । देशका विभिन्न भूभागमा आज गर्मी थप बढ्ने भएको छ। विशेषगरी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम खालको तातो हावाको लहर चल्न सक्छ। यस्तै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन रहने सम्भावना छ। ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

यद्यपि देशका केही भूभागमा वर्षाको सम्भावना पनि रहेको छ। कोसी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोसी प्रदेशलगायत हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली रहनेछ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

मौसमविद्का अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा भए पनि अधिकांश क्षेत्रमा गर्मी बढ्ने क्रम जारी रहनेछ।

स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मी हुने समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, पर्याप्त पानी पिउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूको विशेष हेरचाह गर्न सुझाव दिएका छन्।