काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी दिउँसो २ः३० बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
तीनदिने भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल गर्न प्रतिनिधिमण्डलस्तरीय बैठकमा समेत सहभागी हुनेछन्।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा दुई देशबीचको जनस्तरीय सम्बन्धलगायत आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किँदै छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत गएका लामिछानेले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।
रवि लामिछानेको भ्रमण सकिँदै गर्दा परराष्ट्रमन्त्री खनालको भारत भ्रमण सुरु हुन लागेकाले नेपाल–भारत सम्बन्धलाई लिएर कूटनीतिक गतिविधि थप सक्रिय बनेको देखिएको छ।