काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय पुनः थप गरेको छ। पार्टीले अब जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले देशभर क्रियाशील सदस्यता अद्यावधिकको काम उत्साहजनक रूपमा अघि बढिरहेको निष्कर्ष निकाल्दै समय थप गर्ने निर्णय गरेको हो।
सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीका विभिन्न तहबाट निर्धारित समयमा सदस्यता अद्यावधिक गर्न कठिनाइ भएको भन्दै समय थप गर्न अनुरोध आएको थियो। सोही आधारमा अन्तिमपटकका लागि म्याद थप गरिएको हो।
महामन्त्री पौडेलले तोकिएको अवधिभित्र सबै सदस्यलाई आफ्नो सदस्यता अद्यावधिकको प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।
कांग्रेसले आगामी संगठनात्मक गतिविधि र पार्टीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउन क्रियाशील सदस्यता अद्यावधिकलाई विशेष प्राथमिकता दिएको जनाएको छ।