काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमा आयोजकमध्ये एक राष्ट्र मेक्सिकोले विजयी सुरुआत गरेको छ। घरेलु मैदानमा भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको हो।
मेक्सिको सिटीस्थित रङ्गशालामा सम्पन्न खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको नवौं मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। उनले इरिक लिराको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गरेका थिए।
दोस्रो हाफमा दक्षिण अफ्रिका झन् दबाबमा परेको थियो। खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्न पुग्यो।
संख्यात्मक रूपमा कमजोर बनेको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाब कायम राख्यो। त्यसकै परिणामस्वरूप ६७औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले थप झट्का बेहोर्नुपर्यो। ८४औँ मिनेटमा थेम्बा ज्वानेले रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा झर्यो। यद्यपि अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान छाडे।
प्रतिस्पर्धात्मक खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाएका थिए। जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले तीन अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
यसै समूहअन्तर्गत अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार शुक्रबार बिहान सञ्चालन हुनेछ।