उठीबासपछि होल्डिङ सेन्टरमा सुकुमबासीको आक्रोश, सरकारलाई एक साताको अल्टिमेटम

२ घण्टा अगाडि
उठीबासपछि होल्डिङ सेन्टरमा सुकुमबासीको आक्रोश, सरकारलाई एक साताको अल्टिमेटम

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमबासीहरूले आफूहरूलाई उचित व्यवस्थापन नगरी अमानवीय अवस्थामा राखिएको भन्दै सरकारविरुद्ध आन्दोलन थालेका छन्। उनीहरूले एक साताभित्र पुनर्स्थापनाको स्पष्ट योजना सार्वजनिक गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

थापाथली, गैरीगाउँ, शान्तिनगर, जडीबुटीलगायत क्षेत्रबाट हटाइएका परिवारहरूलाई हाल कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग परिसरमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखिएको छ। तर त्यहाँ आधारभूत सुविधासमेत नभएको भन्दै पीडितहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

आन्दोलनमा उत्रिएका उनीहरूले थाल ठटाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए। एक महिलाले सरकारले व्यवस्थापन गर्न नसक्ने भए किन डोजर लगाएर उठीबास गराएको भन्दै प्रश्न गरिन्।

‘१० बजिसक्यो, अहिलेसम्म खान पाएका छैनौँ। बच्चाहरू विद्यालय जाने बेला भयो, उनीहरूले भात माग्छन्, हामी कहाँबाट ल्याएर दिने ?’ उनले भनिन्।

अर्की महिलाले सरकारले गरिबको पेटमा लात हानेको आरोप लगाइन्। उनीहरूले आवश्यकता परे पुरानै बासस्थानमा फर्किने चेतावनी पनि दिएका छन्।

ज्ञापनपत्रमा आफूहरूलाई थुनुवाजस्तै राखिएको उल्लेख गरिएको छ। होल्डिङ सेन्टरमा रहेका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक तथा दीर्घरोगीले पर्याप्त स्वास्थ्य सेवा, गोपनीयता र सुरक्षाको अभाव झेल्नुपरेको उनीहरूको गुनासो छ।

पीडितहरूले आवासमात्र नभई संविधानले सुनिश्चित गरेको भू–स्वामित्वको अधिकारसमेत माग गरेका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना गरिएको उठीबास रोक्न, लालपुर्जा उपलब्ध गराउन, क्षतिपूर्ति दिन तथा स्वास्थ्य, शिक्षा र सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्।