काठमाडौं । आज काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहानदेखि नै उपत्यकाको आकाशमा बादल लागेको छ र पानी पार्ने प्रकृतिका बादल विकास भइरहेको अवस्था देखिएको छ।
उनका अनुसार बिहान हल्का वर्षाको सम्भावना कम भए पनि पूर्ण रूपमा नकार्न सकिने अवस्था छैन।
केही समयका लागि आकाश खुल्ने सम्भावना रहे पनि दिउँसोपछि पुनः बादल बढ्ने र हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, ठूलो परिमाणमा वा लगातार वर्षा हुने सम्भावना नरहेको मौसमविद् ढकालले बताएका छन्।
मौसमविद्हरूले विशेषगरी दिउँसो र साँझतिर बाहिर निस्कने सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।