काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह "एच" को खेलमा उरुग्वे र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन्। खेलको अन्तिम समयमा माक्सी अराउहोले गोल गरेपछि उरुग्वेले हारबाट जोगिएको हो।
साउदी अरेबियाले पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अग्रता लिएको थियो। कर्नरबाट आएको बलमा हसन अल ताम्बक्तीको हेडरलाई गोलरक्षक फर्नान्डो मुस्लेराले रोके पनि फर्किएको बललाई अब्दुलेलाह अल अम्रीले जाली चुमाएका थिए।
दोस्रो हाफमा उरुग्वेले आक्रामक खेल प्रस्तुत गर्यो। प्रशिक्षक मार्सेलो बिएल्साले टोलीमा परिवर्तन गर्दै खेलको लय परिवर्तन गरेका थिए।
साउदी गोलरक्षक मोहम्मद अल ओवैसले लगातार उत्कृष्ट बचाउ गरे पनि खेल सकिन १० मिनेट बाँकी रहँदा माक्सी अराउहोले बराबरी गोल गर्दै उरुग्वेलाई महत्वपूर्ण एक अंक दिलाए।
साउदी गोलरक्षक अल ओवैस खेलका नायक बने। उनले खेलभरि नौ महत्वपूर्ण बचाउ गर्दै टोलीलाई पराजयबाट जोगाए।
यो बराबरीसँगै समूह ‘एच’ को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। यसअघि केप भर्डेले स्पेनसँग अप्रत्याशित बराबरी खेलेपछि शीर्ष दुई स्थानका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।
अब साउदी अरेबियाले जुन २१ मा स्पेनसँग खेल्नेछ भने उरुग्वेले केप भर्डेको सामना गर्नेछ।