सात महिनादेखि तलब नपाएपछि मधेसका प्रयोगशालाकर्मी आन्दोलनमा

एक घण्टा अगाडि
सात महिनादेखि तलब नपाएपछि मधेसका प्रयोगशालाकर्मी आन्दोलनमा

जनकपुरधाम । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले सात महिनादेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्।

उनीहरूले जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना दिएका छन्।

गत कात्तिक महिनादेखिको तलब, चाडपर्व भत्ता र अन्य सेवा–सुविधा रोकिएको उनीहरूको गुनासो छ।

प्रयोगशालाकर्मी अनिल महतोका अनुसार चालु आर्थिक वर्ष सकिन लाग्दासमेत कर्मचारीको म्याद थप तथा सेवा सम्झौता नवीकरणको प्रक्रिया टुंगो लागेको छैन।

संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन्।

आन्दोलनरत कर्मचारीले रोकिएको तलब, सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्। माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।