काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार असार ४ गते मध्याह्न १२:३० बजे बैठक बस्नेछ।
बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा, संगठनात्मक विषय तथा आगामी महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।
राप्रपाको केन्द्रीय समिति बैठक असार ५ र ६ गते बस्ने कार्यक्रम तय भएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार यसपटकको बैठक महाधिवेशन केन्द्रित हुनेछ र त्यसबाट महाधिवेशनको मिति तय गरिने सम्भावना रहेको छ।
पार्टीका महामन्त्री धवलशमशेर राणासहित विभिन्न तहका १८६ जना नेताले पार्टी परित्याग गरेपछि पहिलो पटक शीर्ष तहको बैठक बस्न लागेको हो।