मन्त्री उपस्थितिपछि प्रतिनिधिसभाको बैठक सञ्चालन

एक घण्टा अगाडि
मन्त्री उपस्थितिपछि प्रतिनिधिसभाको बैठक सञ्चालन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको अनुपस्थिति विषयलाई लिएर विपक्षी दलले आपत्ति जनाएपछि केही समय अवरुद्ध भएको बैठक पुनः सञ्चालनमा आएको छ।

बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

बैठक पुनः सुरु हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उपस्थित थिए।

आठ वटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला ६ जना मात्रै मन्त्री उपस्थित भएको भन्दै नेकपा एमालेका सांसद राजेन्द्र राईले विरोध जनाएका थिए। सभामुखले अन्य मन्त्रीहरू पनि आउने क्रममा रहेको जानकारी दिएपछि संसद् बैठक अगाडि बढाइएको हो।