काठमाडौं । सरकारले विपन्न वर्गलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको संख्या एक हजार २०० नाघेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्याबारे जानकारी दिने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको थियो।
मन्त्रालयका अनुसार देशभरका अस्पतालमा हाल २३ हजार ४५६ वटा शैय्या उपलब्ध छन्। कानुनी व्यवस्थाअनुसार तीमध्ये १० प्रतिशत अर्थात् दुई हजार ३५६ शैय्या पूर्ण रूपमा निःशुल्क छुट्याइएको छ।
हाल ३५४ वटा निःशुल्क शैय्यामा बिरामी उपचाररत छन् भने दुई हजार दुई वटा शैय्या अझै उपलब्ध रहेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा लागू गर्न पोर्टल सञ्चालनमा ल्याइएको बताइन्। विगतमा सूचना अभावका कारण लक्षित वर्गले सुविधा पाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ।
मन्त्रालयले आगामी दिनमा अस्पतालहरूमा उपलब्ध अन्य सेवासम्बन्धी जानकारी पनि पोर्टलमा समावेश गर्ने तयारी गरेको जनाएको छ।