काठमाडौं । देशका विभिन्न भूभागमा आज मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा तातो हावाको प्रभाव रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली हुने अवस्था बनेको हो।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। त्यस्तै, मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
कोसी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन तथा गर्मीको प्रभाव रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ भने कोसी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
रातिको समयमा कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोसी प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले वर्षा, चट्याङ तथा तातो हावाको सम्भावित प्रभावलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।