विश्वकप फुटबल

एम्बाप्पेको कीर्तिमानी प्रदर्शनमा सेनेगलमाथि फ्रान्सको सहज जित

८ घण्टा अगाडि
एम्बाप्पेको कीर्तिमानी प्रदर्शनमा सेनेगलमाथि फ्रान्सको सहज जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ। कप्तान क्लेइन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले दोस्रो हाफमा प्रभावशाली पुनरागमन गर्दै जित निकालेको हो।

खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा बराबरीमा सकिएको थियो। सेनेगलले रक्षात्मक रूपमा सशक्त प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राखेको थियो। तर दोस्रो हाफमा फ्रान्सले खेलको लय आफ्नो पक्षमा पार्न सफल भयो।

फ्रान्सका कप्तान एम्बाप्पेले खेलको ६८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बाराकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा सेनेगलका इब्राहिम बायले एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि त्यसको केही समयपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

योसँगै एम्बाप्पेले विश्वकपमा फ्रान्सका लागि १४ गोल पुर्‍याउँदै नयाँ कीर्तिमान बनाएका छन्। उनले फ्रान्सेली फुटबलका पूर्व स्टार जस्ट फन्टेनको १३ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

फ्रान्सका तर्फबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा एम्बाप्पे शीर्ष स्थानमा पुगेका छन्। जस्ट फन्टेन १३ गोलसहित दोस्रो स्थानमा झरेका छन् भने थिएरी हेनरी ६ गोलसहित तेस्रो स्थानमा छन्।

त्यसैगरी, जिनेदिन जिदान, मिचेल प्लाटिनी र ओलिभियर जिरुडले समान पाँच–पाँच गोल गरेका छन्। एन्टोइन ग्रिजमान, रेमोन्ड कोपा र डोमिनिक रोशेटोले समान चार गोल गरेका छन्।

यस जितसँगै फ्रान्सले समूह चरणमा आफ्नो दाबेदारी बलियो बनाएको छ भने सेनेगललाई आगामी खेलमा जित निकाल्नुपर्ने दबाब बढेको छ।