काठमाडौं । देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहे पनि केही तराई क्षेत्रमा तातो दिन हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने केही प्रदेशका तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।
विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोसी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
त्यस्तै, कोसी र मधेस प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको छ। साथै, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि तापक्रम बढ्ने र गर्मीको प्रभाव देखिन सक्ने विभागले जनाएको छ।
यसअघि विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मात्रै तातो दिन हुने चेतावनी जारी गर्दै आएको थियो। तर पछिल्लो पूर्वानुमानमा वाग्मती र गण्डकी प्रदेशका केही तराई क्षेत्र पनि समेटिएका छन्।
रातिको मौसममा भने कोसी प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।
रातिको समयमा पनि कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोसी प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।